NRNA SCC NSW Parents Picnic 2024
28 Apr, 2024
सिड्नीबाट दुई सय किलोमिटरको दूरीमा रहेका पर्यटकीय नगरी क्यूक्यासलमा एकाबिहानै रंगीन बनेको थियो।
अस्ट्रेलियाकै ठूलो मालबाहक जहाजले भरिएको बन्दरगाहको छेउमा रहेको पार्क रंगीचंगी पहिरनले भरिँदै गर्दा स्थानीय अस्ट्रेलियनहरू छक्क परेर हेरिरहेका थिए।
मर्निङ वाकमा हिँडेका न्युक्यासलबासी नाथन वार्डफोर्ड सोध्दै थिए, 'आज केको मेला वा भेला हो यो' भनेर।
छोराछारीको माया र नाति-नातिनीको हेरचाहमा अस्ट्रेलियाको सिड्नी आइपुगेका लगभग एक हजारभन्दा बढी अभिभावकलाई विदेशमा पनि स्वदेशीपन र नेपाली मनले रम्न र रमाउन एनआरएनले अभिभावक पिकनिकको आयोजना गर्दाको दृष्य हो यो।
परदेशमा आफ्नोपन र नेपालीजनहरूसँग रम्न पाउनु आफैंमा खुसीको क्षण भएको बताउँदै थिइन् अभिभावक अनिता मानन्धर।
'हामीलाई छोराछोरीले नघुमाएका होइनन् तर यसरी हजारौं नेपालीहरूमाझ विदेशमा नेपाली गीत संगीतमा रम्न पाउनु सौभाग्यको कुरा पनि हो,' काठमाडौं घर भएकी मानन्धरले भनिन्।
एनआरएन अस्ट्रेलियाको न्यूसाउथवेल्स च्याप्टरले आयोजना गरेको कार्यक्रममा यस पटक एक हजार अभिभावक सहभागी भएका थिए।
वनभोजमा अभिभावकले समेत गीत, गजल र चुटकिला सुनाएका थिए।
विशाल पार्कमा छरिएर रहेका अभिभावकहरू न्यूक्यासलका समुन्द्री किनार र गगनचुम्बी मिनारभन्दा लोकभाका र गीत संगीतमा मग्न थिए।
'यो सम्भवत विदेशी भूमिका यति धेरै संख्यामा आमाबुवाहरूको भेला होला, व्यवस्थापन गर्न केही गाह्रो भए पनि सफलताका साथ सम्पन्न गर्न पाउनु गर्वको विषय हो,' एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भने।
न्यूक्यासल पार्कमा रमाइलो गरिरहेका अभिभावकको भीडमा रमाएका एनआरएनका ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल आफू नेपालमै रहेका भान भएको बताउँछन्।
'सिड्नीमा बस्दा पनि यति ठूलो संख्यामा अभिभावकको जमघट कहिले देखिएको थिएन तर आज यसरी एकै पटक लगभग हजार जना देख्दा कता कता आफू नेपालमै रहेको जस्तो लाग्यो,' पोखरेलले भने।
सन् २०१६ मा पोखरेल एनएसडब्लु संयोजक हुँदा पहिलो पटक अभिभावक पिकनिकको सुरूआत गरेका थिए।
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.